पाकिस्तानको संसद भङ्ग : अब के हुन्छ प्रक्रिया ?


२० चैत्र २०७८, आईतवार
277528401 543925190400214 3929437812080662013 n1648980196


काठमाडौं । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

संसद् विघटनसँगै उहाँले आगामी ९० दिनभित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका हुन् ।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारे । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् ।

विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिएका थिए ।
प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् । उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन् ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन् । पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले राष्ट्रियसभाको विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने बताएका छन् ।

निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रियसभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ । अब ९० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ । त्यसको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७