भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने


२७ चैत्र २०७८, आईतवार
bijaya subedi chitawan oHpfXpYJ0Z

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदी उठ्ने भएका छन् । बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो ।

सुवेदीको नाम मेयरका रुपमा तल्ला कमिटीबाट आएको जानकारी एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले दिए । ‘भरतपुरसहित चितवनका अन्य पालिकामा पनि उम्मेदवारी सिफारिस अघि बढेको छ । भरतपुरको हकमा महानगर कमिटीले सुवेदीलाई सर्वसम्मत मेयरका रुपमा अघि सारेको जानकारी आएको छ’, अधिकारीले सुनाए, ‘महानगर कमिटीबाट यदि सर्वसम्मत सिफारिस आयो भने उहाँ नै एमालेबाट मेयरका उम्मेदवार हुने सम्भावना छ ।’

सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए । उनी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री बनेका थिए । सुवेदीको नाम मेयरको उम्मेदवारका रुपमा सिफारिस गर्न आइतवारै एमाले भरतपुर महानगर कमिटीको बैठक बसेको छ ।

आइतबार पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसहितको उपस्थितिमा भएको महानगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भरतपुरको मेयरमा एमालेबाट पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको नाम पनि चर्चा थियो । ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए । यो बैठकले एकताको सन्देश दिने गरी सुवेदीको नाम सर्वसम्मत सिफारिस गरेको हो । सुवेदीलाई सर्वसम्मत मेयरको उम्मेदवारका रुपमा अघि बढाउन २०७४ मा रेणु दाहालसँग पराजित देवी ज्ञवाली प्रस्तावक बसे । त्यस्तै सुवेदीको नाममा संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन जनाएर माथिल्लो कमिटीमा सिफारिस पठाइएको हो ।

सुवेदीले यसअघि एमाले जिल्ला कमिटी अध्यक्षका रुपमा तीन पटकसम्म नेतृत्व लिइसकेका छन् । एमालेमा महानगरका मेयर-उपमेयरका उम्मेदवारको नाम केन्द्रीय कमिटीले टुंग्याउने निर्णय गरिएको छ । तर, अर्कातिर कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा मेयरको उम्मेदवारलाई लिएर जारी विवाद अझै मिलेको छैन । २०७४ मा माओवादीबाट निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड पुत्री पनि त्यहाँ दोहोरिने योजनामा छन् । तर कांग्रेस जिल्ला कार्यसमितिले माओवादीलाई भरतपुरको मेयर दिन नसकिने भन्दै काठमाडौंमा डेलिगेसन आएर आइतवार मात्रै फर्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७