आसन्न स्थानीय निर्वाचन संविधान च्यात्ने र बचाउनेबीचको जनमत संग्रह : वर्षमान


२४ बैशाख २०७९, शनिबार
Barsaman Pun 2

रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् ।

ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप उनले लगाएका छन् । मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने दाबी उनले गरे ।

उनले आसन्न स्थानीय तहको निर्वाचनलाई संविधान च्यात्ने र बचाउने बीचको जनमत संग्रहको संज्ञा दिए । ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरुसँग हातेमालो गर्ने ठाउँमा पुग्नु भएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन । स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले ।’

गृह जिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’

नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे । एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको बताए ।

अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरुले बुझेको भए पनि कमल थापा, परिवार दल र कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा जनताले समेत बुझ्ने मौका पाएको पुनको भनाइ छ ।

‘उहाँ (ओली) पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नु भएको छ । कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एक जना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’, पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक/एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्‍याउन कोशिस गर्दै हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७