कैलाली पुरेर प्रचण्डले भने, ‘कांग्रेसबाट धोका हुनसक्छ, षड्यन्त्र भए स्वीकार्दैनौं’


२६ बैशाख २०७९, सोमबार
Prachanda1652077781

कैलाली । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाली आएर सत्ता गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् । उनले अझै गठबन्धन ‘क्लियर’ नभएको बताएका छन् ।

कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमति विपरीत नेपाली कांग्रेसले उमेदवारी दिन लगाएर धोखा दिएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौं । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नु पर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।” उनले ‘प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नै पर्छ भन्ने नरहेको’ बताए ।
कारबाही गरेका उम्मेदवारलाई मागे भोट
प्रचण्डले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट समेत मागेका छन् । गठबन्धनबाट कारबाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट हाल्न उनले आह्वान गरे । उनी कैलारी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार हुन् ।

गठबन्धनले सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । तर, गठबन्धनको सहमति तोड्दै कांग्रेसले त्यहाँ अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी दर्ता गराएको थियो । माओवादी केन्द्रले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षमा उठायो ।

कांग्रेस र माओवादीले आग्रह गर्दा पनि चौधरी र थारुले उमेदवारी फिर्ता लिएनन् । वैशाख १९ गते गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै उम्मेदवारलाई कारबाही गरेको जनाएको थियो । विज्ञप्तिमार्फत गठबन्धनको निर्देशनविपरीत मनोनयन दर्ता गर्ने उमेदवारहरू आधिकारिक नभएको जनाइएको थियो । पत्रकार सम्मेलनमार्फत उनीहरूलाई असहयोग गर्न पनि आग्रह गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७