पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी


९ जेष्ठ २०७९, सोमबार
ramva

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रम्भा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई एक हजार ४४ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाप्रसाद अधिकारीले ४,५४२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत ल्याएका छन् ।

पाँच वटा वडा रहेको रम्भा गाउँपालिकाको वडा नम्बर १ र ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरु ईश्वर काफ्ले र थमनबहादुर गाहा विजयी भएका छन् । एमालेबाट वडा २ मा चेतबहादुर सुनारी मगर, ४ मा कृष्णबहादुर रायमाझी, ५ मा खुमकान्त बस्याल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१० वटा पालिका रहेको पाल्पामा नौ वटाको मतपरिणाम भने चार दिनअघि नै आइसकेको थियो । रम्भा गाउँपालिकामा भने विवाद भएकाले मतगणनामा ढिलाई भएको थियो । रम्भा गाउँपालिका-५, ताँहुको मत गणना गर्दा कर्मचारीले लापरबाही गरेर जोड बढी गर्दा विवाद भएर स्थगित भएको थियो । निर्वाचन आयोगको निर्देशन र दलहरुको सहमतिमा मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७