बर्दियामा प्रहरीले गोली चलाउँदा २० वर्षीया युवतीको मृत्यु, स्थानीयको प्रतिकारमा १८ प्रहरी घाइते


२४ जेष्ठ २०७९, मंगलवार
shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या
सांकेतिक तस्विर

बर्दिया । बाघ नियन्त्रणको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ । गोली लागेर बर्दियाको मधुवन नगरपालिका-२ स्थित आरोली बजारमा एक युवतीको ज्यान गएको छ ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया-राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा घटना भएको हो । घटनामा मधुवन नगरपालिका-२ की करिब २० वर्षीया नविना थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिएका छन् । उनी १२ कक्षाकी विद्यार्थी भएको स्थानीयले जानकारी दिएका छन् ।

‘सडक अवरुद्ध गरेर बसेका प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुडा प्रहार भयो,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको हो ।’ उनले बाघ नियन्त्रणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको टोली परिचालन भइसकेको र वार्ताको तयारी हुँदै गर्दा घटना भएको बताएका छन् ।

स्थानीयको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका उनले जानकारी दिए । घाइतेमध्ये प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । प्रदर्शनमा उत्रिएका स्थानीय दुई जना घाइते भएका छन् । उनीहरुलाई पनि गोली लागेको स्थानीयले बताएका छन् ।


प्रहरीले संयमता अपनाउँदा अपनाउँदै स्थानीयले प्रहरीलाई लक्षित गरेर ढुंगामुडा गर्न थालेपछि घटना भएको सापकोटाले बताए। ‘प्रहरीमाथि आक्रमण भएपछि सुरुमा हामीले ११ राउण्ड अश्रुग्यास र हवाइ फायर गर्यौं,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘त्यति गर्दा पनि आक्रमण नरोकिएपछि प्रहरीले गोली चलाएको हो।’ उनले प्रहरीले एक राउण्ड मात्रै गोली प्रहार गरेको दाबी गरे।

सोमबार बिहान मधुवन नगरपालिका-२ छोट्की सोनाहाका ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनको हाल नेपालगञ्जमा उपचार भइरहेको छ । अस्मितालाई चितुवाले आक्रमण गरेपछि स्थानीयले बिहान साढे ११ बजेदेखि सुरक्षाको माग गर्दै हुलाकी राजमार्गमा पर्ने आरोली बजारमा सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक खुलाउन पुगेको प्रहरीले बल प्रयोग गर्दा घटना भएको हो ।

मृतक नविनाको शव अहिले बर्दिया जिल्ला अस्पताल गुलरियामा राखिएको छ । उनका अभिभावक भने अझै प्रहरीको सम्पर्कमा नपुगेका प्रहरीले जनाएको छ । केही दिनअघि पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका-२ की कौसिला पालको मृत्यु भएको थियो । सोमबार पुनः बाघले आक्रमण गरेपछि स्थानीयले सुरक्षाको माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।

प्रहरीको गोली लागेर युवतीको मृत्यु भएपछि सोमबार दिउँसो १२ बजेदेखि राति ९ बजेसम्म स्थानीयले सडक अवरुद्ध गरेका थिए । राति केही सयम खुलेको सडक स्थानीयले मंगलबार बिहानैदेखि पुनः अवरुद्ध गरेका छन् । मधुवन-२ का वडाध्यक्ष आशाराम चौधरीका अनुसार १४ दिनमा दुई जनामाथि बाघले आक्रमण गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७