प्रदेश-१ को नाम टुङ्गो लगाउन एमाले र कांग्रेस सहमत


२९ जेष्ठ २०७९, आईतवार
pradesh 12021 01 21 09 24 43

मोरङ । प्रदेश-१ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश-१ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली कांग्रेस संसदीय दलसँग छलफल गरेको छ ।

उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् । आजको संसद बैठक सम्पन्न भएपछि प्रदेश-१ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारी दिए ।

‘कांग्रेस र एमालेबीच यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउन सहमत भएका छौं,’ कार्कीले भने, ‘हामीबीचमा सबै संसदभित्रका राजनीतिक दलसँग र सरकारसँग पछि छलफल गर्न पनि सहमत भएका छौं ।’

यसअघि प्रदेश-१ को नामाकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्की सहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई छन् ।

केही दिनयता प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेश-१ को नामाकरणको विषय टुंग्याउनका लागि एमाले कै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए । प्रदेशसभाका सांसदहरुले प्रदेशको यही अधिवेशनबाट नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । सात प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७