जीपको ठक्करबाट एक किशोरको मृत्यु, ६ जना घाइते

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-५ मा जीपको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कोसी-७ का १८ वर्षीय श्रवणकुमार मेहता रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिएको थियो । ठक्करपछि मेहता गम्भीर घाइते भएका थिए भने जीप अनियन्त्रित भई सडक छेउको रूखमा गएर ठोकिएको थियो । घाइते मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जीप चालकसहित छ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस