मूल्यको उतार-चढावले समयमै मल ल्याउन सकिएन : कृषिमन्त्री यादव


३० जेष्ठ २०७९, सोमबार
Mahendra raya yadav

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तार-चढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले नेपाली किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरु समेतको साझा भएको बताए ।

उनले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया शुरु गरिए पनि समयमै ल्याउन नसकिएको बताए ।

मन्त्री यादवले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहेपनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएको जिकिर गरे । उनले समयमै मल आपूर्ति गर्ने ठेकेदारले मल ल्याउन नसकेकाले सरकारले ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रक्रिया समेत शुरु गरिएको बताए ।

मन्त्री यालवले साल्ट ट्रेडिङ कम्पनीले ल्याएको २० हजार मेट्रिक टन डिएपी, २२ हजार मेट्रिक टन युरिया असारको अन्तिम हप्तादेखि प्राप्त हुने सम्भवना रहेको दाबी गरे । उनले जीटुजीको माध्यमबाट भारतबाट मल खरिद गर्नको लागि अहिले डेढ लाख मध्येमा ५० हजार मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन डिएपी असारको अन्तिमसम्म आउने दाबी गरे ।

युरिया , डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको बताए । मन्त्री यादवले भारतसँग भएको जीटुजी प्रक्रिया पूरा गरेर असार मसान्तसम्म सरकारले मल उपलब्ध गराउने तयारीमा रहेको बताएका छन् । उनले नेपालमा नै मल उत्पादन गर्ने उद्योग स्थापनाको लागि सरकारले अध्ययन गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७