लुम्बिनी प्रदेश सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउँदै


१ असार २०७९, बुधबार
Budget D7LhYoiOEG

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज (बुधबार) आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले अपराह्न ४ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुष्मा यादवले आउँदो आर्थिक वर्षका लागि ३६ अर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउन लागिएको जानकारी दिएकी छन् । कोरोना माहामारीका कारण राजस्व संकलन पर्याप्त हुन नसकेनका कारण अहिले पुराना कार्यक्रममै बजेट विनियोजन हुनेछ र नयाँ कार्यक्रम नराखिने उनले बताइन् । अघिल्लो सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेट खर्च र राजस्व संकलन लक्ष्य अनुरूप नभएपछि अबको बजेटको आकार घट्ने देखिएको छ । सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी चालुभन्दा करिब पाँच अर्ब कमको बजेट ल्याउने तयारी गरेको हो ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ३३ प्रतिशत चालु खर्च र ५५ प्रतिशत पुँजीगत खर्च थियो । १५ प्रतिशत बजेट स्थानीय तहमा समानीकरण अनुदानमा थियो । पुँजीगत बजेटको निकै कम हिस्सा मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ३७.८४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

राजस्व संकलन निकै कमजोर छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार सरकारले चालु आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ सात अर्ब १६ करोड ५६ लाख संकलन हुने लक्ष्य राखेको थियो । यसमा आन्तरिक ऋण समेत थियो । तर, अहिलेसम्म २८ प्रतिशत मात्र प्रगति देखिएको छ । गएको जेठ १५ गतेसम्म दुई अर्ब सात करोड ३३ लाख रुपैयाँ मात्र आन्तरिक राजस्व संकलन भएको छ ।

सवारीसाधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मनोरञ्जन कर, विज्ञापन कर, दहत्तर बहत्तर बिक्री आयतर्फको प्रगति भने केही सुधार रहेको छ । यो राजस्व स्थानीय तहसँग बाँडफाँड गर्नुपर्छ । प्रदेशले संकलन गर्ने सवारी कर एक अर्ब ४१ करोड संकलन भएको छ । सरकारले दुई अर्ब २० करोड संकलनको लक्ष्य राखेको थियो । यो राजस्व संकलनमा पनि ६४ प्रतिशत मात्र प्रगति रहेको छ ।

स्थानीय तहले संकलन गरी प्रदेशसँग बाँडफाँड हुने करमा ५७ प्रतिशत प्रगति देखिएको छ । यो शीर्षकमा सरकारले दुई अर्ब तीन करोड ७५ लाख संकलनको लक्ष्य राखिएको थियो । जसमध्ये एक अर्ब १६ करोड २८ लाख मात्र संकलन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७