नयाँ दिल्लीको आरोप : नेपालमा भारतविरोधी आतंकवादी गतिविधि बढ्यो


६ असार २०७९, सोमबार
India Gate

काठमाडौं : भारत सरकारले नेपालमा भारतविरोधी आतंकवादी गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ । काठमाडौं र तराई क्षेत्रमा रहेका मदरसाबाट भारतविरोधी आतंकवादी गतिबिधि भएको भारतको आरोप छ ।

नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लुजी) को बुधबार र बिहीबार नयाँ दिल्लीमा भएको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक आवरणमा भारतविरोधी गतिविधि भइरहेको आरोप लगाएको हो । तर नेपाल पक्षले भने भारतीय पक्षले लगाएको यो आरोपको प्रतिवाद गरेको छ ।

Nepal India Meeting
बैठकमा भाग लिन नयाँ दिल्ली पुगेका कार्यदल सदस्य नेपाली राजदूत शंकर शर्माको साथमा भारतस्थित नेपाली राजदुताबासमा ।


बैठकमा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तीनजना सहसचिव, अध्यागमन विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, गृह मन्त्रालयका स्थानीय प्रशासन र सीमा तथा अध्यागमन शाखाका दुई उपसचिव सहभागी थिए ।

बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार भारतीय पक्षले नेपालका मदरसामा पाकिस्तानी र अफगानी आतंकवादीको घुसपैठ भएको दाबी गर्दे चर्को आवाज उठाएका थिए । भारतले यसअघि पनि नेपाली मदरसामा पाकिस्तानी खुफिया संस्था आइएसआई तथा साउदी अरेबियाले लगानी गरिरहेको र ती मदरसामार्फत भारतविरोधी गतिविधि भइहेको आरोप लगाएको थियो । भारतीय पक्षले २०१८ देखि २०२१ का बीचमा नेपालमा मदरसाको संख्या बढेर ६४५ पुगेको र ती सबैमा पाकिस्तानी खुफिया संस्थाको लगानी रहेको जनाएको थियो ।

कन्स्ट्रक्सन र ठुला महलमा अन्डरवर्ल्डको लगानी
पछिल्लो समयमा भारतीय पक्षले नेपालको कन्स्ट्रक्सन र ठुला महलमा अन्डरवल्र्डको लगानी रहेको आरोप लगाउँदै आएका छन् । जेडब्लुजी १२ औँ बैठकमा भारतीय पक्षले औपचारिक रुपमा कुरा नउठाएपनि अनौपचारिक संवादहरुमा भारतीय उच्च अधिकारीहरुले यस बारेमा पनि तिव्र चासो राखेका एक उच्च अधिकारीले बताए ।

‘अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा आफ्नो अड्डा बनाएको आरोप यसअघिदेखि नै लाग्दै आएको हो,’ ती उच्च अधिकारीले भने, ‘सुन तस्करी, भारतमा नक्कली नोट आदि गतिविधिमा संग्लन उक्त समूह अहिले इन्फास्ट्रक्चर र कन्स्ट्रक्समा केन्द्रीत भएको उनीहरुको रिपोर्ट रहेछ ।’

दुई वर्षअघि कुनै बेला दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडाले मुम्बई प्रहरीले पक्राउ गरेका थिए । उनले दाउदको कम्पनीले सन् २००८–२००९बाट नै काठमाडौंमा लगानी गर्न शुरु गरेको र त्यसमा नेपालका नेता र ठुला कर्पोरेट हाउस समेत संग्लन भएको बयान दिएका थिए । त्यसयता भारतले यस बारे पनि निरन्तर चासो दिदै आएको प्रहरीका उच्च अधिकारीको भनाई छ ।

यसअघि सुन तस्करी र सनम शाक्य हत्यामा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले नेपालमा हुने सुन तस्करीमा कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिम समूहको समेत संलग्नता रहेको दाबी गरेका थिए । गृह मन्त्रालयको विशेष अनुसन्धान समितिलाई दिएको बयानमा उनले आफू सुन तस्करीको व्यवस्थापक मात्र भएको र मुख्य लगानीकर्ता दाउद समूहसँग मिलेको दाबी गरेका थिए ।

सुन तस्करी र भारतीय नक्कली नोटमा संग्लनहरु अहिले इन्फास्ट्रक्चर र कन्स्ट्रक्समा केन्द्रीत भएको र नेपालका ठुला महलहरुमा उनीहरुको लगानी रहेको उच्च अधिकारीको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७