अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा


२० असार २०७९, सोमबार
Gagan thapa bSMYM2dVPS
फाइल् फोटो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उनले बताए ।

महामन्त्री थापाले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने समेत बताए । उनले भने, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्सन लिनुपर्छ । मेरो बुझाइमा अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । यसबारेमा तत्काल छानबिन गर्नुपर्छ । बजेटमा करको दर हेरफर गरिएको भनिएको छ, करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटि भयो भनेर उम्किन पाउने कुरा पनि छैन ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताएका छन् । उनले अर्थ मन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७