प्रचण्डको आइतबार मोदीसँग भेटवार्ता हुने


३१ असार २०७९, शुक्रबार
prachanda modi

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् ।

प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्रचण्डलाई स्वागत गर्न नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भारतीय विदेश मन्त्रालयका नेपाल-भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तव विमानस्थल पुगेका थिए ।

भ्रमणको पहिलो दिन शुक्रबार प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले होटल ताज मानसिंहमा शिष्टाचार भेट गनेका छन् । त्यस्तै नेपाली राजदूतावासमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । प्रचण्डले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नेछन् । त्यस्तै विदेशमन्त्री डा. एस जयशंकरसंग भेट गर्नेछन् । नेपालमा राजदूत रहिसकेर हाल विदेश सचिव रहेका विनयमोहन क्वात्रासँग पनि भेटघाट गर्नेछन् ।

शनिबारै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । शनिबार विदेशमन्त्री जयशंकरले प्रचण्डको सम्मानमा दिने रात्रिभोज आयोजना गर्नेछन् । रात्रिभोजमा भारत सरकारका शीर्ष मन्त्रीहरूसँग भेट हुनेछ । भ्रमणको तेस्रो दिन प्रचण्डका लागि महत्तवपूर्ण हुनेछ । आइतबार प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता हुने बताइएको छ ।

मोदीलाई भेटेर प्रचण्ड दिनदयाल मार्गस्थित भाजपा मुख्यालय जानेछन् । जहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट हुनेछ । त्यसपछि प्रचण्डले नड्डाले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । आइतबार साँझ स्वदेश फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७