संवैधानिक राजसंस्था पुनर्स्थापना गर्दै संघीयता खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र


३ श्रावण २०७९, मंगलवार
rabindra mishra

काठमाडौँ । राजनीतिकर्मी रवीन्द्र मिश्रले जतिसक्दो छिटो नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गरी नेपाललाई ‘हिन्दु-बौद्ध राष्ट्र’ मा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले आफ्नो आउन लागेको पाँचौँ पुस्तक ‘विचारभन्दा माथि देश’ मा यस्तो उल्लेख गरेका हुन् ।

उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको समेत उल्लेख गरेका छन् । नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ ।

उनी भन्छन्,‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नु पर्छ ।’ अब पृथ्वीनारायण शाहको दिव्योपदेश र बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्रकेन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर-बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०-७० लाख युवा विदेशिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ’, मिश्रले पुस्तकमा लेखेका छन् ।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको उक्त पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७