वाणगंगा नदी कटानले बस्ती जोखिममा


२१ श्रावण २०७९, शनिबार
badhi

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ । बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ ।

जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने सो नदीका दर्जन आसपास क्षेत्रमा बाढीको जोखिम रहने गरेको छ । नदीले जिल्लाको वाणगङ्गा, बुद्धभूमि, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन कटान गर्दै आएको छ । कजरहवा, पडरिया, सिङ्ग्रहा, हरदौना, करैलियालगायतका गाउँमा सो नदीमा आउने बाढीको उच्च जोखिममा रहेका छन् ।

नदी व्यवस्थापनका लागि पर्याप्त बजेटको अभावलगायतका समस्याले कटान नियन्त्रण हुन नसेको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताए । सबैभन्दा बढी सो नगरपालिकाको हरदौना जोखिममा छ । हरदौनाको केही स्थानमा तटबन्ध निर्माणका काम सुरु गरिएको भएतापनि निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन ।

यसै सातामा लगातार भएको वर्षाले हरदौनाको विभिन्न स्थानमा बाढीले कटान थालेको हो । सो गाउँको जग्गा कटान गरी नदी गाउँ पस्न अब केही मिटर मात्र बाँकी रहेको स्थानीय शैलेन्द्र चौधरीले बताए । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पटक-पटक अनुगमन गरेपनि काटानको बारेमा कुनै पहल नभएको चौधरीले बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्व सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कटान नियन्त्रणको लागि पहल गरेको बताउनुभएको छ । कपिलवस्तुको खेतीयोग्य जमिन कटान गर्ने वाणगङ्गा नदीको तटबन्ध निर्माणका लागि बजेट उपलब्ध गराउन सफल भएको आचार्यले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले वाणगङ्गा नदी कटान नियन्त्रणका लागि भारत सरकारसँग सम्झौता गरेका थिए । तत्कालीन सिँचाइ राज्यमन्त्री आचार्यले सो नदी नियन्त्रणबारे डिपिआर निर्माण गरी मन्त्रालयमा पेश गरेका थिए । वर्तमान सरकारले बजेट विनियोजन र तबन्ध निर्माण लगायतका कामका लागि बोलपत्र प्रक्रिया अघि बढाएको पूर्वमन्त्री आचार्यले बताए ।
प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो । विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरु हुन नसक्नु दुःखद् भएको स्थानीय रहिस शाहले बताए ।

प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउन पहल गरेका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माण कार्य थालिने बताए । केसीले भने, ‘सङ्घबाट बजेट निकासा भई प्रदेश स्वास्थ्य मन्त्रालयमा आएको छ, प्रदेश स्वास्थ्य मन्त्रालयले सहरी विकास कार्यालयलाई भवन निर्माणको लागि ठेक्का दिइसकेको छ ।’

चन्द्रौटा हाटबजार नजिकैको पूर्वपट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको वन क्षेत्रमा पर्ने नौ बिघा जग्गामा अस्पताल बन्ने भएको छ । अस्पताल बनाउन रु दुई अर्ब लाग्नेछ । निर्माण अवधि दुई वर्षको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटा क्षेत्रमा निर्माण गर्ने जनाएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७