बराबरीमा रोकियो लिभरपुल


२१ श्रावण २०७९, शनिबार
khel scaled

काठमाडौं । दुई पटक पछि परेको स्थितिबाट पुनरागमन गर्दै लिभरपुलले शनिबार इङलिस प्रिमियर लिग फुटबलमा नव प्रवेशी फुलहमसँग २-२ को बराबरी खेलेको छ । सन् २०२०/०२१ को सिजन रेलिगेसनमा परेको फुलहम यसै सिजन पुनः प्रिमियर लिगमा फर्किएको हो ।
नवप्रवेशी फुलहमले दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको छ । योसँगै फुलहमले लिभरपुलसँग अंक बाँड्न सफल भएको छ । लिभरपुल गएको सिजनको उपविजेता टोली हो ।

घरेलु टोली फुलहमले ३२ औँ मिनेटमा एलेक्जेन्डर मित्रोभिकको गोलबाट अग्रता लिएको थियो । मित्रोभिकले केनी टेटेको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् । ३९औँ मिनेटमा लिभरपुलका लुइस डियाज अभागी सावित भए । डियाजले दोस्रो बार च्यापेर हानेको प्रहार बारमा लागेर फर्किएको थियो ।

६४औँ मिनेटमा लिभरपुलका वैकल्पिक खेलाडी डार्विन नुनेजले बराबरी गोल फर्काए । उनले मोहम्मद सालाहको पासमा गोल गरेका हुन् । नुनेजलाई लिभरपुलले यसै सिजन पोर्चुगलको क्लब बेनफिकाबाट ६ करोड ४० लाख पाउन्डमा अुनबन्ध गरेको हो ।

‘डेब्यु’ खेलमा गोल गर्न सफल नुनेज ५१औँ मिनेटमा रोबर्टो फिर्मिन्होको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको १३ मिनेटमै आफ्नो प्रभाव जमाउन सफल भए ।

७२ औँ मिनेटमा मित्रोभिकले पेनाल्टीमा गरेको गोलबाट फुलहमले पुनः अग्रता लियो । लिभरपुलका रक्षक भर्जिल भान डाइकले पेनाल्टी क्षेत्रमा मित्रोभिकलाई फाउल गरेपछि फुलहमले पेनाल्टी अवसर पाएको हो । ८१औँ मिनेटमा सालाहले बराबरी गोल फर्काए । सालाहले नुनेजको पासमा गोल गरेका हुन् । यसअघि, शुक्रबार राति सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७