गोकुलमको जितमा सावित्राको पाँच गोल, बनिन् ‘प्लेयर अफ दी म्याच’


२५ श्रावण २०७९, बुधबार
Sabitra

काठमाडौं । नेपाली स्ट्राइकर सावित्रा भण्डारीको पाँच गोलमा गोकुलम केरला एफसीले बुधबार केरला महिला लिगमा केरला युनाइटेड एफसीलाई ११-० ले पराजित गरेको छ ।

साविक विजेता गोकुलम केरला एफसीले सावित्राको गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको थियो । छैटौँ मिनेटमा कशमिनाले अग्रता दोब्बर बनाइन् । नवौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी सावित्राले २७औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । ३५औँ मिनेटमा सावित्राले अर्को गोल थपिन् । ३८औँ मिनेटमा रेश्मा सीले अर्को थपेपछि गोकुलमले पहिलो हाफमै ६-० को अग्रता लिन सफल भयो ।

५३औँ मिनेटमा सावित्राको पासमा सन्दिया पीले गोकुलमको अग्रता बढाइन् । ५६औं मिनेटमा सावित्राले विपक्षी गोलकिपरलाई विट गर्दै व्यक्तिगत पाँचौँ गोल गरिन् । सावित्राले ६०औं मिनेटमा मैदान छाडेकी थिइन् । सावित्राको स्थानमा विवियन कोनाडु अडजेई मैदान छिरेकी थिइन् ।

सावित्राको स्थानमा मैदान छिरेकी वैकल्पिक खेलाडी विवियनले ७३ औं मिनेटमा गोल गरिन् । ७६औं मिनेटमा सन्दियाले व्यक्तिगत दोस्रो गोल थपिन् । यससँगै साविक विजेता गोकुलमले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । नेपालकी सावित्रा प्लेयर अफ दी म्याच बनिन् । आजै सम्पन्न अर्को खेलमा केरला ब्लास्टरले इमिरेट्स एससीलाई १०-० ले पराजित गर्‍यो । ८६ औं मिनेटमा इमिरेट्स एफसी दश खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७