राष्ट्रिय अनुसन्धान विभागका डीआईजी थापा र जोशी एआईजीमा बढुवा


२६ श्रावण २०७९, बिहीबार
sanusnadhan

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागका दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी सरहको पद) मा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०५३ पुस ५ मा शाखा अधिकृतस्तरबाट सेवा प्रवेश गरेका डीआईजी सरहका हुतराज थापा र ओम जोशीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएका छ ।

थापा र जोशीको बढुवा नभएको भए दुवै जना आगामी भदौ दोस्रो साता ५ वर्षे पदावधिका कारण अवकाशमा जाने थिए । दुवै जना २०७४ भदौ १४ मा डीआईजीमा बढुवा भएका थिए । बढुवाका लागि थापा र जोशीसहित हरिहर पौडेल, सुनील ढकाल, टेकेन्द्र कार्की, सुमन वैद्यलगायत प्रतिस्पर्धामा थिए ।

वरीयता क्रममा क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका थापा र जोशीलाई एआईजीमा पनि सोही वरीयतामा बढुवा गरिएको छ । यससँगै थापा र जोशी मध्येबाट आगामी भदौ २९ गते एक जनाले विभागको नेतृत्व सम्हाल्ने छन् ।

विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे सेवा अवधिका कारण भदौ २८ गतेबाट अनिवार्य अवकाशमा जाने छन् । त्यसपछि रिक्त पदमा थापा र जोशीमध्येबाट एक जनाको बढुवा हुनेछ । यसअघि विभागमा एआईजी सरहको पद एउटामात्रै थियो । थप एउटा दरबन्दी बढाएर थापा र जोशीलाई एकैचोटी एआईजीमा बढुवा गरिएको छ ।

एआईजीको दरबन्दी थप्नकै लागि केही दिनअघि मात्रै विभागको संगठन तथा व्यवस्थापन (ओएण्डएम) संशोधन गरेर एआईजीको संख्या दुई पुर्‍याइएको थियो । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दुई एआईजीको संख्या घटाएर एकमा झारिएको थियो । अघिल्लो सरकारको सो निणर्य संशोधन गरेर वर्तमान सरकारले पुनः एआईजीको संख्या बढाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७