दार्चुला जीप दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत, नौं जना घाइते


१ भाद्र २०७९, बुधबार
darchula

दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्ल नगरपालिका-८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् ।

शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा बुधबार अपराह्न चार पुरुष र एक जना महिलाको घटनास्थलमै मुत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बझाङका सबै जना भारतको पिथौरागढ उपचारका लागि जान आएको भन्ने बुझिएको दार्चुलाका प्रहरी डिएसपी प्रतीक विष्टले बताए । प्रहरीका अनुसार घाइते हुने मालिकार्जुन गाउँपालिका-३ का ५० वर्षीया गोमतीदेवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका-६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका-३ का ३५ वर्षीय रमेश लुहार, महाकाली नगरपालिका-७ का २५ वर्षीय लिलाराम कोली, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका-३ का प्रदीप राना र बझाङ बुङ्गल नगरपालिका-८ का ६८ वर्षीय धनबहादुर जागरी घाइते भएका छन् ।

उनीहरुमध्ये ३ जना सख्त घाइते रहेका छन् । घाइतेहरुको गोकुलेश्वर प्रहरी चौकी, मालिकार्जुन चौकीका प्रहरी र स्थानीय उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७