आतंक मच्चाइरहेको पाटेबाघ नियन्त्रणमा

सल्यान । सल्यानको कालिमाटी गाउपालिका-७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका-५ का वडा अध्यक्ष प्रेमबहादुर सारुले बताए ।
कालिमाटी गाउँपालिका-७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सूचना पाएपछि घटनास्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यसअघि आईतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षीय रामबहादुर चन्द, ६७ बर्षीय कबि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाईएको छ । यसअघि आइतबार दुई जनाको ज्यान लिएको बाघ यहि हुन सक्ने अनुमान गरिएको उनले बताए ।