पाकिस्तानमा बाढीबाट तीन करोड ३० लाख बढी मानिस प्रभावित


१६ भाद्र २०७९, बिहीबार
Pakistan Flood affected 33 million akoMvz3wdQ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बालबालिकासहित एक हजार १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै एक हजार ६०० भन्दा बढी मानिस घाइते भएका छन् भने दुई लाख ८७ हजारभन्दा बढी घरहरू पूणर् रूपमा नष्ट भएका छन् ।

यसबाहेक, करिब सात लाख ३५ हजार भन्दा बढी पशुपंक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ ।

डब्ल्यूएचओले एक रिपोर्टमा भनेको छ, ‘जुलाई २०२२ को मध्यमा पाकिस्तानमा सुरु भएको भारी मनसुनी वर्षा देशका धेरै भागहरूमा जारी छ र यसले पाकिस्तानका १५४ जिल्लाहरू मध्ये ११६ जिल्लाहरू (७५ प्रतिशत) लाई प्रभावित पारेको छ। सबैभन्दा बढी सिन्ध प्रभावित बनेको छ भने बलुचिस्तान दोस्रो प्रभावित प्रान्त हो ।’

संयुक्त राष्ट्रसंघले भनेको छ, ‘पाकिस्तानमा २५ अगस्ट २०२२ सम्ममा बर्षा र बाढीका कारण तीन करोड ३० लाख मानिसहरू प्रभावित भएका छन् । चार लाख २१ हजार शरणार्थीसहित ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ । एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने करिब १५ हजार मानिस घाइते भएका छन् ।’

डब्लूएचओका अनुसार बर्षा र बाढीको कारण देशका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन् भने सन् २०२२ अगष्ट २८ सम्ममा ८८८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ, जसमध्ये १८० वटा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीमा पहुँच अहिलेका लागि मुख्य स्वास्थ्य चुनौतीका रूपमा रहेको डब्ल्यूएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठनले देशको स्वास्थ्य प्रणालीले कोभिड-१९, हैजा, टाइफाइड र दादुरा जस्ता विभिन्न समसामयिक स्वास्थ्य खतरासँग जुधिरहेको जनाएको छ ।

यद्यपि पाकिस्तानमा अहिलेको बाढी आउनुभन्दा पहिले पनि ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य सेवाको पहुँचमा ठूलो असमानता थियो । संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न थप तीन करोड अमेरिकी डलरको जीवन रक्षक मानवीय सहायताको घोषणा गरेको छ भने अन्य मुलुकबाट पनि सहयोगको लागि प्रतिवद्धताहरू आएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७