धुवाँ देखिएपछि जापानका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो


२९ भाद्र २०७९, बुधबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं । जापानको नारिताका लागि १८४ यात्रु बोकेर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ । मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको हो ।

‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए,’ निगमका एक अधिकारीले भने, ‘त्यो समस्या देखिँदा जहाज नेपालकै आकासभित्र थियो ।’
चालक दलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाजमा नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । जापानमा रहेका एक नेपालीका अनुसार, त्यहाँको स्थानीय समयअनुसार राति ८ बजे नारिताबाट फर्किने तालिका रहेको छ ।

त्यहाँ २४६ यात्रु छन् । त्यो वाइडबडी काठमाडौं फर्केर बुधबार राति दक्षिण सुडान जाने तालिका रहेको छ । काठमाडौं नारिता एकतर्फी करिब ७ घण्टा उडान समय लाग्छ । यस घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७