नमुना अस्पतालको सञ्चालनको जिम्मा एचडिसिएसले लिने


३१ भाद्र २०७९, शुक्रबार
Namuna Hospital2021 05 22 03 50 59

लमजुङ । लमजुङको सुन्दर बजारमा रहेको नमुना सामुदायिक अस्पताल विकास समितिले सञ्चालन गर्दै आएको नमुना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालनको जिम्मा मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले गर्ने भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारी, सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइराला, समाजसेवी रामबाबु अधिकारी र एचडिसिएसका संस्थापक डा. तीर्थ थापालगायतको टोलीसँग भएको कुराकानीमा अस्पताल व्यवस्थापन र सञ्चालनका लागि सम्झौता गर्ने सहमति भएको हो ।

अस्पताललाई एचडिसिएसले व्यवस्थापन र सञ्चालन गर्ने भएसँगै यस क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा पाउने आशा लिएका छन् । अब केही दिनमा नै प्राविधिक, कानुनी, र व्यावहारिक कुराहरू मिलाएर सम्झौता गरिने अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

०६१ सालमा तत्कालीन सुन्दरबजार गाविसका केही व्यक्तिको नेतृत्वमा भरपर्दो स्वास्थ्य सेवा दिने अस्पतालको परिकल्पना गरी अस्पताल विकास समिति दर्ता गरेका थिए । त्यसपछि तत्कालीन सुन्दरबजार गाविससहित १९ वटा गाविसका बासिन्दालाई सेवा दिने गरी त्यसैलाई सेवा क्षेत्र राखेर अस्पतालले काम गर्दै आएको थियो ।

लमजुङ जिल्ला अस्पताल पनि यसअघि एचडिसिएसको व्यवस्थापनमा सञ्चालन हुँदै आएको थियो । २२ वर्ष सञ्चालन र व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएपछि जिल्ला अस्पतालमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको थियो । हाल उक्त अस्पताललाई सम्झौता रद्द गरी प्रदेश सरकारले नै सञ्चालन गर्ने निर्णय गरेको छ । अस्पतालबाट लमजुङ, मनाङ, गोर्खाको पश्चिमी क्षेत्र, तनहुँको उत्तरी क्षेत्र, कास्कीको पूर्वी क्षेत्रलगायत स्थानका सर्वसाधारणले थप गुणस्तरीय सेवा पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७