नाजुक बन्दै डा. केसीको स्वास्थ्य अवस्था, आठ दिनमा घट्यो तीन किलो तौल

कुनै पनि पोषक तत्व लिन अस्वीर


३ आश्विन २०७९, सोमबार
Govinda kc 1

कैलाली । कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको सञ्चालनसहित चिकित्सा क्षेत्र सुधारका मागसहित ८ दिनदेखि धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ नाजुक बन्दै गएको छ ।

8उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गइरहेको, नसाहरु सुक्दै गएको र तीन किलो तौलसमेत घटेको चिकित्सकले जानकारी दिएका छन् । चिकित्सा क्षेत्रको सुधारका लागि लामो समयदेखि अनसन बस्दै आएका डा. गोविन्द केसीले धनगढीमा अनसन शुरु गरेको सोमबार ८ दिन भइसकेको छ ।

गेटा मेडिकल कलेजमा साढे ८ अर्बका पूर्वाधार बनिसक्दा पनि सञ्चालनमा नआएको, सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि विगतमा गरेका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा भदौ २६ गते देखि आमरण अनसन थालेका थिए । तीन दिनमै उनको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई सेती प्रादेशीक अस्पतालमा राखिएको छ ।

‘डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको छ । मांसपेशीहरु सुक्दै गएका छन्, दिसा कालो भएको हुनाले पेटमा अल्सर भइ आन्तरिक रक्तश्राव भएको छ, पोषणतत्व र पानीको मात्रा कम भएकाले उनको अवस्था जटिल बन्दै गएको छ,’ सेती प्रादेशीक अस्पतालका बरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने ।

डा. कमरको नेतृत्वमा डाक्टर अमृत जैशीसहितको चिकित्साको टोली केसीको उपचारमा खटिएको छ । डा. केसीले मुखबाट पानी र नसाबाट रिंगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिन नमानेको पनि डा. कमरले बताए । ‘हामीले आवश्यकता अनुसार पानी र पोषण तत्व लिन आग्रह गरिरहेका छौं, तर मानिरहनु भएको छैन, अल्सर भएर आन्तरिक रक्तश्राव भएको हुनाले ज्यानमा जटिलता देखिएको छ,’ उनले भने ।

सोमबार डा. केसीको स्वास्थ्यको अवस्था जटिल बनेपछि उनलाई बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि पनि सेती प्रादेशीक अस्पताले आग्रह गरेको छ । अस्पताल प्रशासनले राष्ट्रिय मानवअधिकार आयोग, सामाजिक विकास मान्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीलाई डा. केसीको स्वास्थ्यमा जुनसुकै बेला पनि जटिलता बढन सक्ने भन्दै विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि अनुरोध गरेको हो ।

सुदूरपश्चिममा स्वास्थ्य सेवा नाजुक छ । यहाँका जनताले स्वास्थ्य चौकीहरुमा पाइने भनिएको निशुल्क औषधिमध्ये पनि ७० प्रतिशत औषधि पाउँदैनन् । साढे ८ अर्बका भौतिक संरचना बन्दा पनि गेटामा मेडिकल कलेज बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुराको टुंगो लागेको छैन । डाक्टर केसीले देउवा सरकारले गेटामा अबिलम्ब मेडिकल कलेज सञ्चालन गरी जनतालाई स्वास्थ्य सेवा दिन माग गरेका छन् ।

‘म सुदूरपश्चिमका सबै जिल्लामा गएको छु, मैले यहाँ निशुल्क सेवा पनि गरेको छु । यहाँका मानिसहरु उपचार नपाएर भारत जान्छन् । भारतमा पनि लुटपाटमा पर्छन् । नेपालगञ्ज, काठमाडौं जाने उनीहरुको आर्थिक हैसियत छैन । मैले सरकारलाई के पो भनेको छु र उसैले संविधानमा लेखेको आधारभूत स्वास्थ्य सेवा निशुल्क भन्ने कुरा पुरा गर मात्र पो भनेको छु,’ डाक्टर केसीले भने ।

सरकारको हरेक प्रदेशमा एक/एकवटा सरकारी मेडिकल कलेज बनाउने नीति छ । संविधानमै पनि हरेक नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने प्रावधान राखिएको छ । तर पूर्वाधार बनिसक्दा पनि गेटामा मेडिकल कलेज वा प्रतिष्ठान केही पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७