पाकिस्तानको कीर्तिमानी जित : इङल्याण्ड १० विकेटले पराजित


७ आश्विन २०७९, शुक्रबार
pakistan TQlDbZzPrr

काठमाडौँ । इङ्रल्याण्डसँगको दोस्रो टी-२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित हात पारेको छ । गए राति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो ।

इङ्ल्याण्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकासहित १ सय १० रनको शतकीय पारी खेले ।

टी-२० मा यो उनको दोस्रो शतक हो । त्यस्तै रिजवानले ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनको अर्धशतकीय पारी खेले । कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इङ्ल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका कप्तान मोइन अलिले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए । पाकिस्तानको टी-२० क्रिकेटमा १० विकेटको जित यो दोस्रो पटक हो । यसअघि टी-२० विश्व कपमा पाकिस्तानले भारतलाई हराएको थियो ।

टी-२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो । जितसँगै ७ खेलको टी-२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको थियो । इङ्ल्याण्ड र पाकिस्तानबीचको तेस्रो टी-२० खेल शुक्रवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७