चार विधामा पाँच साहित्यकार सम्मानित
काठमाडौँ, २५ चैत । स्याङ्जा साहित्य प्रतिष्ठानले चार विधामा पाँचजना स्रष्टालाई सम्मान गरेको छ । शनिबार प्रतिष्ठानले पाँचजना साहित्यकारलाई सम्मान गरेको हो ।
कार्यक्रममा स्रष्टा सम्मान, कृति विमोचन एवं काव्य गोष्ठी गरिएको थियो । गोष्ठीमा एक दर्जनभन्दा बढी सर्जकले रचना वाचन गरेका थिए ।
कालिगण्डकी साहित्य कला पुरस्कार २०७४ साहित्यिक पत्रकार नवराज रिजाल, यानित स्मृति साहित्य पुरस्कार युवाआख्यानकार तथा कलाकार खगेन्द्र लामिछाने, निर्मल–टुकमाया गिरी पर्यावरण पुरस्कार २०७४ प्रा.डा. शेषकान्त अर्याल, आमा सुमित्रादेवी गिरी साहित्य पुरस्कार २०७३ डा. श्यामप्रसाद न्यौपाने र सोही पुरस्कार २०७४ सरु पोख्रेललाई प्रदान गरिएको थियो ।
सम्मानित साहित्यकारलाई नगद पुरस्कार, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । सम्मानित हुँदा लेखन र कला संस्कृतिप्रति अझ जिम्मेवारी थपिएको कलाकार खगेन्द्र लामिछानेले बताए ।
पाल्पा, म्याग्दी, मकवानपुर, नवलपुर, बाग्लुङलगायत जिल्लाबाट आएका स्रष्टाले रचना वाचन गरेका थिए ।