डा. ओम मूर्तिको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति


२५ चैत्र २०८०, आईतवार
book

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउण्डेशनले जनाएको छ । गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ माग भइरहेको बताइएको छ । पुस्तक देशभरिकै अधिकांश पुस्तक पसलहरु र भाटभटेनी सुपरमार्केटका देशभरिकै स्टोरमा उपलब्ध रहेको छ भने समीक्षा पब्लिकेसन्स्लगायत विभिन्न अनलाइन प्लेटफर्म र वितरकमार्फत पाठकसमक्ष पु¥याइँदै आएको छ ।

पाठकहरूद्वारा अत्यधिक रुचाएको पुस्तकहरूको सूचीमा यस वर्ष मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पर्न सफल भएको छ । पाठक प्रतिक्रिया र समीक्षकहरूको प्रशंसासँगै छोटो समयमा पुस्तकको उच्च बिक्रीले जीवन्त सम्बन्ध पुस्तक पाठकको रुचीमा पर्न सफल भएको हो । पाठकको उत्साहजनक सहभागिता र माग बढिरहेको फाउन्डेसनले छिट्टै पुनः संस्करण ल्याउने तयारी गरेको छ । ५३ वटा खण्डलाई २३१ पृष्ठमा समेटिएको ‘जीवन्त सम्बन्ध’ पुस्तक कुल २४० पृष्ठको रहेको छ ।

यस पुस्तकले विशेषगरी बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढङ्गबाट केलाइएको छ । लेखकले आफ्नो जीवन भोगाइ, अनुभव र ज्ञानलाई रचनात्मक तरिकाले पुस्तकमा समाविष्ट गरेको हुँदा सबैलाई आफ्नै कथाव्यथा जस्तो लाग्ने भएकालाई पुस्तकले पाठकको मन जित्न सफल भएको समीक्षकहरूको भनाइ छ ।

त्यस्तै बदलिँदो नेपाली समाजमा खड्किदै गएको सम्बन्धको महत्वलाई पुस्तकमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सामाजिक रूपान्तरणका निम्ति बलियो आधार बन्ने ‘जीवन्त सम्बन्ध’ पुस्तकका हरेक खण्डले मानिसलाई आफ्नो दायित्वबारे बुझाउन मद्दत गर्नेछ । विशेषगरी लेखकले ‘म’ पात्रमार्फत बुवासँगको सम्बन्धलाई प्रतिनिधिमूलक घटनाका रूपमा दर्शाउँदै नेपाली समाजको विम्ब प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७