सानेपामा धर्नामा सहभागी नेताहरुको चेतावनी : नसच्चिए कांग्रेस समाप्तीको बाटोमा जान्छ


१२ आश्विन २०७९, बुधबार
congress shekhar

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले आगमी निर्वाचनको समानुपातिक तर्फको बन्द सूची र प्रत्यक्ष तर्फ उम्मेदवार एकपक्षीय बनाएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोइराला पक्षधर नेता–कार्यकर्ताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन्।

धर्नामा सहभागी नेताहरूले पार्टी नेतृत्व नसच्चिए कांग्रेस समाप्तीको बाटोमा जाने चेतावनी दिएका छन् । कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको बताए। उनले शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको बताए।

‘समान न्याय र अवसरका लागि, पार्टीभित्र सबैलाई न्याय होस्। सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनसाय हो। जुन परिस्थिति सिर्जना भयो‚ समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो। किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ‚’ उनले भने, ‘निर्वाचित नहुनेगरी केही साथीहरूको नाम छ। त्यसको अर्थ नाम झुन्डियाइदिएको छ तर त्यो नाम निर्वाचित हुन सक्दैन।’

नेता अजयबाबु सिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए। उनले बन्दसूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने चेतावनी दिए। 

‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयासजस्तो देखियाे समानुपातिकको बन्दसूचीको लिस्टबाट । यसमा आमकार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ। सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ।’

कांग्रेस नेता भूपेन्द्रजंग शाहीले कांग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गरे। उनले पार्टीको अधिवेशनमा अरूलाई भोट दिएको आधारमा नेताहरूको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए। 

‘समान अवसर र न्यायको खाँचो छ। यो कसैको व्यक्तिगत पार्टी होइन। यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउनु जरुरी छ,’ उनले भने, ‘हिजो त्याग गरेका मानिसहरूले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरूको राजनीति सक्न खोज्ने, उनीहरूको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरूलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ। यो कुराले नेपाली कांग्रेसलाई थप कमजोर बनाउँछ। पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो।’

शेखर पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवामाथि दबाब दिँदै आएका छन्। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार नै गर्ने चेतावनी दिँदै आएको छ। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७