बझाङमा ड्रागन खेतीको तयारी


१८ आश्विन २०७९, मंगलवार
dragon fruit
फाइल फोटो

बझाङ । बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो ।

त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए । करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उनी बताउँछन् ।

‘कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्याउन असहज हुनसक्छ’, उनले भने, ‘बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा भयो । पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ ।’

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । ‘अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ’, उनले भने, ‘गर्मी सिजनमा हुने हुँदा यो पटक पाँच / पाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।’

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । ‘एउटै बिरुवालाई रु एक हजार पाँच सय जति पर्छ’, उनले भने, ‘यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७