लमजुङ प्रदेशसभा ’क’ जमिन्द्र र टकराज फेरि आमने-सामने, रोचक बन्दै प्रतिष्पर्धा


३१ आश्विन २०७९, सोमबार
Lamjung chunab jamindra takraj

लमजुङ । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोड-घटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् ।

चुनावी माहोल तातिएसँगै चोकचोक र चिया पसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको बिषयमा छलफल र चर्चा हुन थालेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।

प्रदेश ‘क’ मा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र एमाले लमजुङका पूर्व अध्यक्ष जमिन्द्रमान घलेबीच प्रतिष्पर्धा हुँदैछ भने प्रदेश ख मा कांग्रेसका पूर्व सभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुनेछ ।

संघीय निर्वाचन र प्रदेश ‘ख’ मा दुई उम्मेद्वारबीच पहिलो पटक प्रतिष्पर्धा हुन लागेको हो भने प्रदेश ‘क’ का उम्मेद्वारद्वय घले र गुरुङबीच अहिले दोस्रो पटक प्रतिष्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रो पटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ८९२ को झिनो मतान्तरले बिजयी भएका घलेलाई मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा निर्वाचन भने भारी हुनसक्ने आँकलन छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनको वडागत मत परिणामले लोकतान्त्रिक–बाम गठबन्धनमा लमजुङमा अगाडि रहेको देखाउँछ भने प्रदेशसभा ‘क’ मा गठबन्धनको मत धेरै अगाडि देखिन्छ ।

कुल ३६ वटा वडा रहेको लमजुङ प्रदेश सभा ‘क’ मा काँग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मत समेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ भने नेकपा एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ । वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ ।

त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ ।

त्यस्तै ४ वटै पालिकाका उपप्रमुखले पाएको मतलाई आधार मान्दा पनि गठबन्धन अगाडि देखिन्छ । गठबन्धनका उपमेयर÷उपाध्यक्ष पदका उम्मेद्वारले १७ हजार ६० मत पाएका थिए भने एमालेका उपमेयर÷उपाध्यक्ष पदका उम्मेद्वारले १४ हजार ९४४ मत पाएका थिए । उपाध्यक्षको मतको आधारबाट हेर्दा पनि गठबन्धन २ हजार ११६ मतले अगाडि देखिन्छ ।

४ पालिकाका ८ जना प्रमुख÷उपप्रमुख मध्य गठबन्धनबाट ५ जनाले जितेका छन भने एमालेबाट ३ जनाले जितेका छन् । कुल ३६ वटा वडामध्ये गठबन्धनको तर्फबाट २१ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् भने एमालेको तर्फबाट १५ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् । जनताको अभिमतमा एक पटक परीक्षित भईसकेका जमिन्द्रमान र यस पटक परीक्षण हुने जमर्को गरीरहेका डा.टकराज गुरु मध्ये कस्ले मार्ला बाजी ? त्यसलाई हेर्न भने मंसिर ४ नै कुर्न पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७