ललितपुरमा सत्ता गठबन्धनको कार्यकर्ता भेला : देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने


१ कार्तिक २०७९, मंगलवार
madhav

ललितपुर । सत्ता गठबन्धनले आज (मंगलबार) ललितपुरमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । आसन्न चुनावको लागि गठबन्धन गरेका दलहरुले ललितपुरमा पहिलो पटक उम्मेदवारहरुसहितको अगुवा कार्यकर्ता भेला आयोजना गरेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धन बनेपछि चुनावलाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरिएको कांग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले जानकारी दिएका छन् ।

भेलालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गठबन्धनका नेताहरुले आइतबार काठमाडौं–२ मा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

ललितपुरमा तीन निर्वाचन क्षेत्र छन् । गठबन्धनबाट क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा, २ मा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा उर्जामन्त्री एवम् माओवादी केन्द्रकी नेता पम्फा भुसाल उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७