कर्णालीमा बागीले सत्ता गठबन्धनभित्र तनाव : एकअर्काको निगरानी शुरु


९ कार्तिक २०७९, बुधबार
karnali chunab mangsir 4 1

सुर्खेत । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारका कारण सत्ता गठबन्धनभित्र समस्या उत्पन्न भएको छ । जसकारण नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकले अर्काको निगरानी बढाएका छन् ।

नेताहरुले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न र गठबन्धनभित्र रहेका दलका कार्यकर्ताको निगरानी गर्न सर्कुलर गरिएको छ । ठाउँठाउँमा बागी उम्मेदवार भएपछि दलहरूले निगरानी गर्न थालेका हुन् ।

कर्णाली प्रदेशमा १६ जना स्वतन्त्र उम्मेदवार छन् । कर्णालीका जुम्ला र कालिकोटमा माओवादी उम्मेदवारविरुद्ध पार्टीकै बागी उम्मेदवार उठेका छन् । माओवादी उम्मेदवारविरुद्ध कांग्रेसको समेत बागी रहेको छ । रुकुम पश्चिममा अर्थमन्त्री जनार्दश शर्माविरुद्ध कांग्रेसका तारक केसीले बागी हालेका छन् । कालिकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध काशीचन्द्र बरालले बगी उम्मेदवारी दिएका छन् ।

जुम्लामा गोमा कुँवरबिरुद्ध माओवादीकै कलबहादुर रोकायले उम्मेदवारी दिएका छन् । सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार बिन्दमान बिष्टबिरुद्ध एकीकृत समाजवादीका मोहनसिंह बडुवालले बगी हालेका छन् ।

हुम्ला (क) मा माओवादी उम्मेदवार रणसिंह परियारबिरुद्ध हस्तबहादुर शाही र कांग्रेसका मंगल शाहीले बागी हालेका छन् । सुर्खेत १ (ख) मा कृष्ण जीसीबिरुद्ध कांग्रेसका देवबहादुर चन्द र जनमोर्चाका मोहन थापाले बागी दिएका छन् । मुगु (ख) मा माओवादी उम्मेदवार मंगल शाहीबिरुद्ध जगत धामीले बागी उम्मेदवारी दिएका छन् ।

कर्णालीमा एकीकृत समाजवादीका उम्मेदवारबिरुद्ध पनि बागी छन् । सल्यानमा प्रकाश ज्वालाकबिरुद्ध कांग्रेसका रवीन्द्रबहादुर शाहले बागी हालेका छन् । कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेको जुम्ला (क) मा महाधिवेशन प्रतिनिधि देवेन्द्र शाही बागी छन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट जुम्लामा प्रतिनिधिसभा उम्मेदवार थिए ।

बागीहरूले घेरिएपछि आधिकारिक उम्मेदवार पक्षमा जनमत सिर्जना गर्न सत्ता गठबन्धनभित्र एकले अर्काकोे निगरानी थालेका हुन् । प्रदेशस्तरमा निर्वाचन परिचालन अनुगमन समिति समेत गठन गरिएको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको छ । समितिमा कांग्रेसका महामन्त्री कृष्ण रोकाय, निरञ्जन केसी, समाजवादीका ठगेन्द्रप्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजितबहादुर शाही, राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७