निर्माण व्यावसायमा उदाहरणीय सुमन


११ कार्तिक २०७९, शुक्रबार
Majdur 1

पाल्पा । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुन् । अहिले उजलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ ।

पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध छिन् । एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण गरिरहेकी छन् । सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गरेकी उनले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यावसायीका नामले आफ्नो पहिचान बनाएकी छन् ।

आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमानसँगै सुमन यस क्षेत्रमा लागेकी हुन् ।
उनी भन्छिन्, ‘मैले पढ्न नपाए पनि दुःख गरेर छोरीलाई काठमाडौँमा राखेर उचित शिक्षामा लगानी गरिदिएको छु, छोरीले पनि चारवर्षे कम्प्युटर इञ्जीनियरिङ उत्तीर्ण गरिन्, मैले भोगेको दुःख छोरीले भोग्न नपरोस् ।’

पूर्वी पाल्पा मजदुर व्यवसायी समितिको उपाध्यक्ष समेत रहेकी सुमन घरमा बेरोजगार बसेका महिलालाई आर्थिक उपार्जनका निम्ति आफूले सीप सिकाएर काम दिने गर्छिन् । समय र कामअनुसार मजदुरलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उनी बताउँछिन् । सुमनको नेतृत्वमा काम गर्ने मजदुरले दैनिक आठ घण्टा काम गरेवापत रु छ सयदेखि रु एक हजारसम्म ज्याला बुझ्छन् । उनले दैनिक न्यूनतम १० देखि बढीमा २० कामदार परिचालन गर्दै आएकी छन् ।

‘हातमा सीप भएपछि पुरुषसरह नै काम गर्न सकिन्छ, अरुको भरमा रहँदा महिला हेपिनुपरेको छ’, उनले भनिन्, ‘यस कामबाट समाजमा दाम र नाम मिलेको छ, यसमा म एकदमै सन्तुष्ट छु । तर कतिपय सन्दर्भमा भने मजदुर वर्ग भनेपछि गाउँ समाजमा कामको सम्मान छैन ’

आफूले सकुञ्जेलसम्म यसै व्यवसायमा रहने सुमनको भनाइ छ । विभिन्न स्थानबाट माग आए पनि कामको चापले रामपुर नगरपालिकाभित्रै व्यस्त छिन् । हाल उनी दुईवटा घरको ठेक्का लिएर काम गरिरहेकी छन् । उनले आवासीय घर मात्र नभई विद्यालय तथा मस्जिद, विभिन्न सङ्घसंस्थाको भवन निर्माण गर्दै आएकी छन् ।

सम्बन्धित घरधनी तथा सङ्घसंस्थाले दिएको आकारअनुसार नै जस्ताको तस्तै निर्माण गर्ने उनको कला छ । त्यसकारण पनि सुमन यस क्षेत्रकै निर्माण व्यवसायीमा साहसी, सफल व्यवसायीका रूपमा कहलिएकी छन् । यस क्षेत्रमा काम सुरु गरेपछि साढे चार आनाको जग्गा किनेर घर बनाएकी छन् भने दुई घडेरी समेत जोड्न सफल भएकी छन् । अहिले श्रीमान् र श्रीमती नै यसै क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । हातमा सीप भएका कारण कोभिड–१९ को समयमा पनि उनलाई एक दिन खाली बस्नु परेन ।

यस व्यवसायमा खर्च कटाएर वार्षिक न्यूनतम रु दुई लाख बराबरको कमाइ गर्दै आएकी छन् । घर भवन निर्माणमा आवश्यक पर्ने करिब सात लाख बराबरको विभिन्न सामग्री आफै बन्दोबस्त गरेकी छन् । बर्सेनि रु एक लाख ५० हजारभन्दा बढी सामग्री खरिदमा नै लगानी गर्छिन् । हालसम्म तीन सय बढी घर भवन निर्माण सम्पन्न गरिसकेकी छन् ।

निर्माण व्यवसायसम्बन्धी व्यावसायिक तालिम परिषद्बाट छ महिने तालिम लिएकी छन् । रामपुर क्षेत्रमा मात्रै करिब ६० भन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् । पूर्वी पाल्पामै यस क्षेत्रमा उनी एक्लो महिला व्यवसायीका रुपमा चिनिन्छन् । महिलाको नेतृत्वमा आफू ज्यालादारीमा काम गर्ने अवसर पाउँदा धेरै सहज भएको बताउँछिन्, २९ वर्षीया सपना परियार ।

सुमनकै प्रेरणा र साथ पाएपछि घर बनाउने मिस्त्री काम सिकेकी सपनालाई यतिबेला यस क्षेत्रमा काममा भ्याइनभ्याई नै छ ।
‘महिलाका समस्या बुझ्ने महिलाले नै हो रहेछ, कतिपय समस्या आइपरे पनि झट्ट पुरुषलाई भन्न अप्ठ्यारो लाग्ने, सुरक्षाका हिसाबले महिला निर्माण व्यवसायी भएपछि ढुक्कसँग काम गर्न पाइयो, आफ्नै सन्तानसरह व्यवहार पाएकी छु, त्यसैले एक दिन पनि घरमा आराम गरेर बस्नै मन लाग्दैन’, उनले भनिन् ।

कक्षा ७ सम्मको औपचारिक शिक्षा लिएकी सपनाका १० र १२ वर्षका दुई छोरा छन् । हाल दैनिक मजदुरीबाट रु छ सय ज्याला बुझ्छिन् । यसैबाट परिवारको जीविका र दुई छोराको पढाइ खर्च चलेको छ । सात वर्ष अगाडि भारतमा रोजगारी गर्न गएका उनका श्रीमानको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपश्चात् उनी मजदुरीकै भरमा गुजारा चलाउन बाध्य छिन् । उनले सिमेन्ट घोल्ने, घरको गारो लगाउने, प्लाष्टर गर्ने जस्ता घर भवन निर्माणका सबैजसो सीप सिकेकी छन् ।

निर्माण व्यवसायमा महिला भए पनि पुरुष सरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा रहेको कपिलवस्तुको गोरुसिङ्गेका ६० वर्षीय टीकाराम थारू बताउँछन् । उनी पनि सुमनकै नेतृत्वमा अहिले भवन निर्माणमा संलग्न छन् । सुशीला रेग्मी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७