भीम रावलको प्रश्न : एउटै व्यक्ति दुई पार्टीको उम्मेदवार र नेता बन्न मिल्छ ?


११ कार्तिक २०७९, शुक्रबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो चुनाव चिह्न सूर्यबाट अन्य दलका नेताहरुलाई चुनाव लड्न दिएकोबारेमा प्रश्न उठ्ने क्रम रोकिएको छैन ।

पार्टीमा प्रवेश नगरेका अन्य दलका नेतालाई पनि संसदीय चुनाव लड्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न दिएपछि उठेका प्रश्न अझै सेलाउन सकेको छैन । खासगरी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, जनता प्रगतिशीलका अध्यक्ष हृदयश त्रिपाठी र परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सूर्य चिह्न दिएपछि कार्यकर्ताले पनि प्रश्न उठाइरहेका छन् ।

पछिल्लो पटक अछाम १ मा संसदको टिकट खोसिएका नेता डा. भीमबहादुर रावलले पनि एमालेको चिह्नबाट अन्य दलका नेता चुनाव लडिरहेकोबारेमा प्रश्न गरेका छन् । उनले अन्य दलका अध्यक्ष रहेका त्रिपाठी, थापा र ढकाललाई ओलीले सूर्य चिह्न दिएर चुनाव लडाउनु कानुनी हिसावमा पनि गैरकानुनी हुने बताएका छन् ।

थापा मकवानपुर १ बाट सूर्य चिह्न लिएर प्रतिनिधिसभामा उठेका छन् । उता त्रिपाठी नवलपरासी पश्चिममा सूर्य चिह्नबाटै चुनावी मैदानमा छन् । परिवार दलका अध्यक्ष ढकाल सूर्य चिह्नबाटै समानुपातिक उम्मेदवार बनेका छन् ।

‘चुनाव स्वच्छ, मर्यादित र कानूनसम्मत हुनैपर्छ । अलग पार्टीका प्रमुख कमल थापा, हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका छन्’, उनले भनेका छन्, ‘के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ ? कानुन र लोकतान्त्रिक मान्यता के हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७