जुम्लाका आठ वटै स्थानीय तहमा नमुना मतदान


२८ कार्तिक २०७९, सोमबार
Matadan Namuna terathan 1 scaled

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईले बताए ।

जिल्लाका आठवटै स्थानीय तहको सबै बडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि नमुना मतदान गरिएको उनको भनाइ थियो । चन्दननाथ नगरपालिकामा गरिएकोे नमुना मतदानमा १०४मतमध्ये १३ मत बदर भएको थियो भने सिञ्जा गाउँपालिकामा ३६ जनाले मतदान गरेकामा आठ मत बदर भएको थियो ।

कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर, पातारासीमा ३८ जनाले मतदान दिएकामा १४ मत बदर भएको थियो । त्यस्तै हिमा गाउँपालिकामा ४२ जनाले गरेको १२ मत बदर, तातोपानीमा ५९ जनाले मतदान गरेकामा नौ मत बदर, तिलामा ७२ जनाले मतदान गरेकामा १८ मत बदर र गुठीचौर गाउँपालिकामा ७२ जनाले मतदान गरेकामा १२ मत बदर भएको थियो ।

नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका विषयमा जानकारी हुने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

जिल्लाभर कूल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७