नेपाल र पाकिस्तान आज मैत्रीपूर्ण फुटबल खेल हुँदै


३० कार्तिक २०७९, बुधबार
Nepali Football11664297092

काठमाडौँ । नेपाल र पाकिस्तानबीच आज (बुधबार) मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे शुरु हुने जनाइएको छ ।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औं खेल खेल्दैछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दै छन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो । दुई देशबीच हालसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ । नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक प्रवेश कटुवालले नेपाली टोली उच्च मनोवलमा रहेको र पाकिस्तानलाई हराउन सक्षम रहेको बताएका छन् । यस्तै, संकटबाट उठेको पाकिस्तानी टोली जितको लागि उत्सुक रहेको पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७