निर्वाचनको तयारी अन्तिम चरणमा, ५२ मतदानस्थल अतिसंवेदनशील


३ मंसिर २०७९, शनिबार
chunab 5

कैलाली । मंसिर ४ गते हुने निर्वाचनका लागि कैलालीमा मतदान गराउन खटिएका कर्मचारी यतिबेला मतदान केन्द्र निर्माण र सर्वपक्षीय छलफलमा व्यस्त रहेका छन् । बिहीबार मतदान केन्द्रमा मतदान सामग्रीसहित पुगेका उनीहरू शुक्रबारदेखि सर्वपक्षीय छलफल र मतदान केन्द्र निर्माणमा जुटेका छन् ।

मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगी त्यहाँ गर्नुपर्ने काममा जुटिसकेकाले अब निर्वाचन तयारीको अन्तिम चरणमा पुगिसकेको निर्वाचन आयोगको कार्यालय कैलालीले जनाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ को मोति मावि मोतिनगर मतदानस्थलका मतदान अधिकृत श्यामराज पाण्डेले निर्वाचनअघि गर्नुपर्ने सबै काम भइरहेको बताए । ‘मतदानस्थल तयार, राजनीतिक दलसँग छलफललगायतका कार्य सकेका छौं’, उनले भने, ‘मंसिर १ गते नै पुग्याँै, पुगेको सूचना निर्वाचन कार्यालयलाई जानकारी गरायौँ, कार्यविभाजन गरेर ९० प्रतिशत काम सकेका छौँ ।’

बिहीबार मतदान केन्द्रमा पुगेका कर्मचारीले बिहीबारदेखि नै अनुसूचीअनुसारका सूचना जारी गर्ने, शुक्रबारदेखि सर्वपक्षीय छलफल गर्ने, मतदान केन्द्र निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने र मतदान केन्द्र निर्माण गर्ने काम गरिरहेका छन् ।
टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर मावि मतदानस्थलका मतदान अधिकृत धर्मसिंह बटालाले वीरेन्द्रमा सात मतदान केन्द्र रहेको जानकारी दिए । ‘विभिन्न सूचना जारी गर्‍यौँ, शान्ति स्थापनाका लागि हातहतियार निषेध गर्ने, आचारसंहिता पालना गर्ने खालका सूचना ग¥यौं’, उनले भने, ‘कर्मचारीको जिम्मेवारी बाँडफाँट गर्ने काममात्र बाँकी छ ।’

कैलाली क्षेत्र नं २ का निर्वाचन अधिकृत तेजप्रकाश जोशीले पनि आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका सबै एक सय २२ वटै मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै पुगिसकेको जानकारी दिए । शुक्रबार केही मतदानस्थलमा सर्वपक्षीय छलफल भइसकेको र केही मतदानस्थलमा आज छलफल हुने जोशीले बताए । ‘मतदान केन्द्र निर्माण गर्ने काम पनि धमाधम भइरहेका छन्’, निर्वाचन अधिकृत जोशीले भने ।

पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलाली जिल्लामा दुई सय ३७ वटा मतदानस्थल र छ सय २९ मतदान केन्द्र राखिएका छन् । अन्य आठवटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएका छन् । यी सबै तोकिएका मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी त्यहाँ पुगेपछि गर्नुपर्ने कामको थालनी भइसकेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । ‘मतदान कर्मचारी, सुरक्षालगायतका टोली पुगेर काममा खट्नुभएको छ’, उनले भने, ‘हामी व्यवस्थित र शान्तिपूर्णरूपमा मतदान गर्नका लागि खटेका छौँ ।’

आइतबार हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि कैलालीमा स्वयंसेवकसहित सात हजार पाँच सय कर्मचारी खटिएका छन् भने एक हजार आठ सय १२ नेपाल प्रहरी र दुई हजार आठ सय १२ म्यादी प्रहरी खटिएका छन् । यसका साथै सशस्त्र प्रहरी बल र नेपाली सेना पनि निर्वाचनको सुरक्षाका लागि खटिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

५२ मतदानस्थल अतिसंवेदनशील
कैलाली । कैलाली जिल्लामा दुई सय ३७ वटा मतदानस्थल छन्, जसमा सुरक्षाका दृष्टिकोणले कैलालीका ५२ वटा मतदानस्थल अतिसंवेदनशील रहेका छन् । ५३ स्थल सामान्य र एक सय ३२ संवेदनशील रहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले ती निर्वाचनस्थल वर्गीकरण गरेको र अहिले प्रहरी प्रशासनले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएको उनले बताए । ‘मतदानस्थलको संवेदनशीलताका आधारमा सुरक्षा प्रबन्ध मिलाउने र सचेतना अपनाई निर्वाचनलाई स्वच्छ र मर्यादित तवरले सम्पन्न गराउनेमा हामी चनाखो छौं’, उनले भने, ‘निर्वाचन शान्तिपूर्णरूपमा निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७