खारेज भए जिल्ला शिक्षा कार्यालय


३० चैत्र २०७४, शुक्रबार
jilla sikchhya office

काठमाडौँ, ३० चैत । सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई बिहीबारदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।jilla sikchhya office

मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्न निर्देशनसमेत दिइसकेको छ ।

देशभरि २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला शिक्षा कार्यालयको ठाउँमा एकाइ कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सहसचिव अर्यालका अनुसार उक्त एकाइ कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहनेछ ।

अहिले जिल्ला शिक्षा कार्यालय भएको ठाउँमा नै एकाइ कार्यालय स्थापना गरिनेछ । उक्त कार्यालयले कक्षा ८ र १० को परीक्षा सञ्चालनसम्बन्धी काम गर्ने, शिक्षकको अभिलेख राख्ने, शिक्षकको निवृत्तिभरणको काम गर्नेलगायतका काम गर्ने सहसचिव अर्यालले बताए ।

अहिले उक्त कार्यालयमा प्रमुख ‘शिक्षा सेवाको उपसचिव’ र ‘शाखा अधिकृत’ रहने छन् । यसअघि शिक्षा कार्यालयमा रहने ‘जिल्ला शिक्षा अधिकारी’ पदको व्यवस्था गरे पनि एकाइ कार्यालयमा भने त्यस्तो पदको नाम राखिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७