आज आम निर्वाचन : बिहान ७ बजेदेखि मतदान


४ मंसिर २०७९, आईतवार
chunab
फाइल फोटो

काठमाडौं । आज (मंसिर ४ गते) प्रतिनिध सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार अहिले बिहान ७ बजे देशभरका मतदान केन्द्रमा एकसाथ मतदान शुरु हुनेछ । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

यस्तै सरकारले शान्ति, सुरक्षाको अवस्था बलियो बनाइएको उल्लेख गर्दै ढुक्कसँग मतदान गर्न नागरिकलाई आह्वान गरेको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दैछन् । कूल १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।

यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र रहेको र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दैछन् ।
कति छन् उम्मेदवार ?
प्रतिनिधि सभाको निर्वाचनमा २,४१२ जना उम्मेदवारले भाग लिएका छन् । प्रत्यक्षतर्फ १६५ जनाका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी २,४१२ जना चुनावी मैदानमा छन् । जसमा २,१८७ जना पुरुष र २२५ महिला छन् ।
यस्तै प्रदेश सभा प्रत्यक्षतर्फ ३३० जना प्रतिनिधिका लागि ३,२२४ जना उम्मेदवार छन् ।
यसरी गर्ने मतदान
एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कसरी मतदान गर्ने? कतिपयलाई अझै अन्योल हुन सक्छ । निर्वाचन आयोगका अनुसार एक जना मतदाताले ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्छ। प्रतिनिधिसभाका लागि २ वटा र प्रदेशसभाका लागि २ वटा मतपत्र हुन्छन् । दुई छुट्टाछुट्टै निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग गरिने निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।

मतदान गर्ने तरिका
१. मतदान केन्द्रमा गइसकेपछि सबैभन्दा पहिला प्रतिनिधिसभा उम्मेदवारका लागि दिइने मतपत्र अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र दिइन्छ । जुन सेतो मतपत्रमा रातो रङको मसिले छापिएको हुन्छ । यस मतपत्रको कुनै एक निर्वाचन चिन्हमा स्वस्तिक छाप हालेर १ नम्बर लेखेको मतपेटिकामा खसाल्न पर्नेछ ।

२. दोस्रो मतपत्र चाहिँ सेतो रङको पृष्ठभूमिमा कालो रङको मसिले छापिएको हुन्छ । यो प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र हो । प्रतिनिधिसभामा कुनै राजनीतिक दलको एक निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने हुन्छ । मतदान गरिसकेपछि २ नम्बरको मतपेटिकामा खसाल्नपर्ने हुन्छ ।

३. तेस्रो मतपत्रचाहिँ प्रदेशसभातर्फको हुन्छ । प्रदेशसभामा छान्नपर्ने उम्मेदवार छानेर स्वस्तिक छाप लगाई ३ नम्बरको मतपेटिकामा खसाल्नपर्ने हुन्छ ।

४. अन्तिममा, चौंथो मतपत्र यहाँले पाउनु हुनेछ । जुन प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र हो । प्रदेशसभामा हुने राजनीतिक दलहको कुनै एक चिन्हमा स्वस्तिक छाप हानेर ४ नम्बरको मतपेटिकामा मतपत्र खसाल्नपर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७