लमजुङबाट प्रतिनिधि सभामा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित


८ मंसिर २०७९, बिहीबार
Prithvi Subba Gurung dev gurung

लमजुङ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन् । उनले ३४ हजार नौ सय ६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

उनका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ । ०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत भएका थिए ।

लमजुङमा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४ सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १ सय ४८ मत प्राप्त गरेका छन् ।

आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले ६० मत, नेपाली कांग्रेस (बीपी) का लक्ष्मीकान्त पौडेलले ४९ मत, राप्रपा नेपालका टकबहादुर गुरुङले ३३ मत, स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३१ मत र नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले २० मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७