गोर्खा सैनिकका विषयमा आज नेपाल–बेलायतबीच वार्ता हुँदै


१४ मंसिर २०७९, बुधबार
gorkha

काठमाडौं । नेपाल र बेलायतबीच ब्रिटिस गोर्खा सैनिकहरूको पेन्सनलगायतका मागका सम्बन्धमा आज (बुधबार) वार्ता हुने भएको छ । यसअघि १७ कात्तिकमा भएको वार्तामा भएको सहमतिअनुसार कर्मचारीको तहमा लण्डनस्थित नेपाली दूतावासमा समग्र एजेन्डामा छलफल हुन लागेको हो । वार्तामा भूपू गोर्खा सैनिकका प्रतिनिधि सहभागी हुनेछन् ।

बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य र बेलायतका रक्षा राज्यमन्त्री एन्ड्रु मरिसनबीच गोर्खाका प्रतिनिधिसहित वार्ता भएको एक महिनाभित्रै कर्मचारी तहमा वार्ता हुन लागेको छ । वार्ताको नेतृत्व नेपालका तर्फबाट नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र बेलायती रक्षा मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।

उपनियोग प्रमुख खनालले लामो समयदेखि गोर्खा सैनिकले उठाउँदै आएका मागका विषयमा विस्तृतमा छलफल हुने र उच्चस्तरीय वार्ताका लागि वातावरण बनाउने गरी तयारी भइरहेको बताएकी छन् ।

भूतपूर्व गोर्खा सैनिकहरूले सन् १९९७ भन्दा अघि अवकाश पाएका गोर्खा सैनिकहरूलाई बेलायती सैनिक सरह पेन्सन र कल्याणकारी सुविधा पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । १९९७ पछिका गोर्खालाई बेलायतीसरह सुविधा दिइएको छ । बेलायती सेनामा दुई सय वर्षभन्दा बढी समयदेखि नेपालीहरूको भर्ती हुँदै आएको छ । हाल ब्रिगेड अफ गोर्खाअन्तर्गत नेपालीहरू बेलायती सैनिकमा कार्यरत छन् ।

बेलायतको राजदरबारको सुरक्षा पनि गोर्खा सैनिकले गर्दै आएका छन् । दुई वर्षअघि १८ चैत ०७४ मा गोर्खा भूतपूर्व सैनिकका माग समाधानका लागि सुझाव कार्यदलले प्रतिवेदन दिएको थियो । भूतपूर्व गोर्खा सैनिकले त्यही प्रतिवेदन कार्यान्वयनमा जोड दिँदै आएका छन् । प्रतिवेदनमा गोर्खालाई पनि बेलायतीसरह समान पेन्सन र सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख रहेको जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७