पूर्वी नवलपरासीमा धान उत्पादन बढ्यो


१५ मंसिर २०७९, बिहीबार
dhan
फाइल फोटो

नवलपरासी । पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए । गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिक टन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताए ।

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो ।

गत वर्षभन्दा धान उत्पादन बढ्दा कृषक पनि खुशी भएका छन् । कावासोती–१३ का कृषक चेतनारायण चौधरीले धानबालीलाई चाहिने समयमा आवश्यक वर्षा हुँदा उत्पादन बढेको बताए । ‘जेठदेखि नै वर्षा भएका कारण समयमा धान रोप्न पाइयो, रासायनिक मल समयमै पाउन सकेको भए अझै वृद्धि हुन्थ्यो’, चौधरीले भने । युरिया मल अभावले उत्पादन अपेक्षितरूपमा अझै बढ्न नसकेको उनको भनाइ छ ।

धानको उत्पादन बढे पनि किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी धान खरिद बिक्री भइरहेको छ ।

कावासोती–१२ का कृषक मणिलाल चापागाईंले दुई बिघा जमिनमा धानखेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । सरकारले सावित्री (मोटा) धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ७६ तोके पनि प्रतिक्विन्टल दुई हजार सात सयमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए ।

घरमा धान भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चापागाईंले बताए । ‘महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गएजस्तो हुन्छ’, उनले भने । उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको चापागाईंले गुनासो गरे ।

पूर्वी नवलपरासीमा सावित्री, रामधान, सावा मनसुली र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ । धान पूर्वी नवलपरासीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७