मधेशका मुद्दामा मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव


२२ मंसिर २०७९, बिहीबार
ck raut upendra yadav

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई बुधबार भेटेका छन् । उनले ती भेटका क्रममा मधेशको मुद्दामा मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् ।

अध्यक्ष राउतले बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए । राउतले सप्तरी क्षेत्र नम्बर २ मा आफैले मंसिर ४ मा हराएका जसपा अध्यक्ष यादवलाई उनकै निवास पुगेर भेटेका थिए ।

भेटमा अध्यक्ष यादवले राउतलाई जितको बधाई दिँदै मधेशको मुद्दामा प्रतिवद्ध भएर काम गर्न सुझाव दिएका थिए । अध्यक्ष राउतले मिलेर मधेशको हितमा काम गर्न अध्यक्ष यादवसँग प्रस्ताव गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

एकअर्काको सहयोगले मात्रै मधेशको मुक्ति सम्भव रहेको यादवसँग अध्यक्ष राउतले बताएका थिए । अध्यक्ष यादवले पनि मधेशीलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका सिंहले बताए । बुधबारै राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव विजेता ठाकुरलाई पनि राउतले बधाई दिए । सप्तरी २ बाट विजयी राउतलाई पनि ठाकुरले बधाई दिएका छन् । अध्यक्ष ठाकुरले मधेशका लागि थुप्रै काम गर्न बाँकी रहेको बताउँदै त्यसमा मिलेर काम गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले एकअर्काको सहयोग मिलेमात्रै राम्रो हुने बताए । बुधबार नै राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका छन् । राउतलाई ओलीले सरकारमा हुँदा मूलधारको राजनीतिमा ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७