कामचलाउ सरकारले अध्यादेश ल्याउनु असंवैधानिक, अविलम्ब फिर्ता हुनुुपर्छ : भीम रावल


२९ मंसिर २०७९, बिहीबार
Bhim Rawal

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेश देशको हितमा नरहेको भन्दै अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकाले यस्तो बेलामा देशको अहित हुने गरी अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ता लिन माग गरे ।

रावलले भने, ‘मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन गरेर, नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै अपराधमा सलग्न व्यक्ति किन नहोस्, निजले एउटा दल खोलिदिएपछि, ती कुरा माफी÷मिनाहा हुने कुरा गरिएको छ, यो संविधान र कानुनी दुवै दृष्टिकोणबाट पूर्णरूपमा गलत छ । प्रधानमन्त्री शेरबहादुर देउवा त कामचलाउ प्रधानमन्त्री हो । दीर्घकालीन असर पर्ने काम गर्नुहुन्छ ? राजनीतिक नैतिकता भएको व्यक्तिले यो काम गर्न सक्छ ?’

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको रावलले आरोप लगाए । उनले भने, ‘यो गैरजिम्मेवार र अनैतिक काम पनि हो । अध्यादेश जारी गर्नै कुरा, यो कामचलाउ सरकार र संक्रमणकालिन अवस्थामा रहेका प्रधानमन्त्रीले गर्न मिल्दैन । अध्यादेश भनेको त कुनै काम तत्काल नगरी नहुने कुरामा जारी गर्ने व्यवस्था गरेको हो । म संविधान निर्माणको क्रममा सक्रिय भूमिका खेलेको व्यक्ति हुँ, लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने, निहित स्वार्थ पुर्ति गर्न अध्यादेशको सहारा लिने कुरा अलोकतान्त्रिक र अनैतिक काम हो । प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री बन्नको लागि केही अमुक दलहरुलाई खुशी बनाएर आफ्नो पक्षमा ल्याउन अध्यादेश जारी भएको कुरा बाहिर आएको छ । यो गलत हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७