स्वदेश फर्किए चार्ल्स शोभराज, १० वर्ष नेपाल आउन नपाउने

नेपाल छाड्दै गर्दा शोभराजले भने, ‘पेरिस पुगेर क्रिसमस मनाउँछु’


८ पुष २०७९, शुक्रबार
shovaraj E2qWQHnDpe

काठमाडौँ । नेपालको कारागारमा १९ बर्ष बढी बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । सरकारले उनलाई ‘डिपोर्ट’ गर्दै स्वदेश फर्काएको छ ।

सर्वोच्च अदालतको गएको बुधवारको आदेशअनुसार आज शुक्रवार जेलमुक्त भएका शोभराजलाई केहीबेर अघिको उडानबाट फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ । शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले जानकारी दिइन् । शोभराज दोहा हुँदै भोलि शनिवार पेरिस पुग्ने उनले बताइन् ।

शोभराज २०६० सालदेखि नेपालको सुन्धारा कारागारमा थिए । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा २०६० सालमा पक्राउ परेका शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

पछिल्लो पटक शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो । ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको आदेशमा भनिएको छ ।

भारत, थाइल्याण्ड, टर्की, इरानलगायतका देशमा गरी २० जनाभन्दा धेरैको हत्यामा संलग्न भएको आरोप लागेका शोभराजले भारत र नेपालको जेलमा गरी २० वर्ष बिताएका छन् । भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्न पोख्त मानिने शोभराजलाई ‘बिकिनी किलर’, ‘सिरियल किलर’ र ’द सर्पेन्ट’ उपनामले विश्वभर चिनिन्छ ।

शोभराजसँग जोसुकै मानिसलाई पनि भेटेको केही समयमै आफ्नो प्रभावमा पार्न सक्ने शक्ति भएको उनको मुद्दाको अनुसन्धान गरेका अधिकारीहरू बताउँछन् । नेपालबाट डिपोर्ट भएका चार्ल्स शोभराजले पेरिसमा गएर क्रिसमस मनाउने बताएका छन् । विमानस्थलमा कतार उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसँग उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।

उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीले जानकारी दिएका छन् । ५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भए पनि उनी खुशी देखिएका थिए । ‘उनी निक्कै खुशी भएर हामीसँग बिदा हुँदै हँसिलो मुहारमा विमान चढे,’ अध्यागमनका एक कर्मचारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७