मुख्यमन्त्रीले नै छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे


५ बैशाख २०७५, बुधबार
trilochan bhatta

कैलाली, ५ बैसाख : प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै यसमा सबैको सहयोगसमेत आवश्यक रहेको बताए । trilochan bhatta

भर्ना अभियानलाई प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन् । यसअघि उनकी छोरी डोटीको के आइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् । भर्ना कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गरे । ‘शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस्’, मुख्य मन्त्री भट्टले भने, ‘विद्यालयप्रति चासो राख्नुहोस् अनि मात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’

आज बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुग्नुभएका मुख्यमन्त्री भट्टले आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गरेका छन् । देशभरी वैशाख २ बाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७