चिसोबाट बचाउन दाउराको मुढा वितरण


२० पुष २०७९, बुधबार
Jado daura mahotari scaled
फाइल फोटो

कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।

चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए ।

निकुञ्ज कार्यालयसँग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उनको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलव्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् ।
कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरेका छन् ।

‘जनताको जीउधनको सुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्व भित्र पर्दछ’, शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भने, ‘चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।’

बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टले आवश्यकता भएका ठाउमा मागअनुसार आगो ताप्न बुढा वितरण गरिएको बताए । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउसो सितलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्द समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७