आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास


२४ पुष २०७९, आईतवार
aankhe tal

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवर्द्धनमा लागेका हुन् ।

पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवर्द्धनमा जुटेका हुन् ।

चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट रू ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिए । ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका छन् ।

मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ । ‘निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्‍याउनुका साथै ताललाई केही मात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौं’, सचिव ढकालले भने । यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रा समेत फेला परेको उनले जानकारी दिए । उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए ।

मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट रू दुई लाख ५० हजार र वडा नं २ बाट रू ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत् जुटाइएको छ । यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परापूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ ।

आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताए । यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उनले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गरे । यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उनको भनाइ छ ।

कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए । जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ । त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ । ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो । त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखे ताल भनिएको उनले बताए ।

युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ ।

पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् ।

पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ-दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ । खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको रू तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब रू पौने तीन करोडको लागतमा सम्पन्न हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७