यतीको विमान दुर्घटना : मृत्तक पाइलट केसीको जन्म गाउँमा सालिक बनाइने


४ माघ २०७९, बुधबार
kamal kc

कास्की, ४ माघ । पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मंगलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् । रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाले बताए ।

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नोपल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीलेको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिए । मंगलबार गाउँपालिकाको बैठकले साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ । साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७