समस्याहरुको गीत गाउन मात्रै आएको होइन : मन्त्री भण्डारी


१३ माघ २०७९, शुक्रबार
Damodar Bhandarib mantri

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि आएको दावी गरेका छन् ।

आज (शुक्रबार) बाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको उद्योग–व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए । सरकार लगानीकर्तालाई सहज रूपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउने कुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढिरहेको बताए ।

उद्योगी, व्यापारीहरूले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरे र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महसुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

‘उद्योगी, व्यापारीहरू उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरें र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महसुस गर्ने वातावरण सिर्जना गर्नेछु,’ उनले भने ।
मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभई उद्योगीहरूलाई प्रोत्साहित गर्ने र नीतिगत अप्ठ्यारा फुकाइदिने काम गर्ने बताए । भृकुटीमण्डपमा जारी एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७